खगेन्द्र पराजुली
६ साउन, देवचुली
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सोमवार नवलपुर जिल्ला आउनुहुने भएको छ । दुई दिनको कार्यक्रम तालिका अनुरुप नवलपुरका कार्यक्रहरुमा सहभागी हुन मुख्यमन्त्री गुरुङ आउनहुने भएको नेकपाका तिल प्रसाद काफ्लेले जानकारी गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा आयोजना हुने पुष्पलाल श्रेष्ठको स्मृति सभालाई सम्बोधन गर्न गुरुङ कावासोती आउनुहुने भएको हो । सोमवार नै गुरुङले जिल्लामा रहेका जिल्ला कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने र त्यस लगत्तै नवलपुर जिल्लाभित्रका स्थानीय तहका प्रमुख एवं उपप्रमुखसँग स्थानीय तहका कार्य प्रगतिका सन्दर्भमा जानकारी लिने कार्यक्रम समेत रहेको नेता काफ्लेले जानकारी गराउनुभयो ।
मुख्यमन्त्री गुरुङ नवलपुरको सदरमुकाम कावासोतीमा सोमवार तय भएका तीन वटा कार्यक्रममा सहभागी भए पछि सोमवार नै गण्डकी प्रदेशको भारतसँग जोडिएको एकमात्र दक्षिणी नाका छोटी भन्सार कार्यालय, त्रिबेणीको अनुगमनका साथै त्रिबेणी स्थित गजेन्द्रमोक्ष धामको दर्शन गर्नुहुने कार्यक्रम रहेको छ ।
काफ्लेका अनुसार सोमवार गुरुङको बास बस्ने कार्यक्रम त्रिबेणीमा रहेको छ । भोलीपल्ट मंगलबार कावासोतीमा आयोजित एम्बुलेन्स चालकहरुको साधारण सभालाई सम्बोधन गरी कावासोती १६ शहिदनगर डण्डामा निर्माण भएको शहिद पार्कको उद्घाटन एवं यम बहादुर कार्की र पुर्ण बहादुर परियारको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । कार्की र परियारको दासढुंगा काण्डमा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको निधन भएपछि पार्टीले आयोजना गरेको बिरोध प्रदर्शनमा डण्डामा प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो ।
मंगलवार नै मुख्यमन्त्री गुरुङ पोखरा फर्कनुहुनेछ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment