Thursday, November 3, 2022


खगेन्द्र पराजुली,

नवलपुर, कार्तिक १७ । 

नवलपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसीले पुस्ता हस्तान्तरण सहित भ्रष्टचारबिरुद्धको अभियानका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । आज बिहीवार रजहरस्थित पिप्रहरमा जिसीले आह्वान गरेको पत्रकार सम्मेलनमा सामाजिक रुपान्तरणका लागि युवाको प्रतिनिधित्व गर्दै यस क्षेत्रकै विकासका निम्ति पनि उम्मेदवारी दिएको बताए । 

सोही कार्यक्रममा उनले सार्वजनिक गरेको घोषणापत्रमा ८ बुँदामा नीतिगत कार्यहरु उल्लेख गरेका छन् । साँसदको खर्च र सुविधा घटाउने, पाँच ज अन्तर्गत जनशक्ति, जलस्रोत, जडिवुटी, जमिन र जंगलको संरक्षण र उपभोग, रोजगार, सुकुम्वासी समस्यासमाधान, सार्वजनिक सम्पति सुरक्षण, सक्षम जिल्ला निर्माण, घरेलु मदिरालाई बैधानिकता र प्रतिवन्धित जडीवुटी गाँजा, भाँगलाई ब्यवस्थित गरी खुलाउने, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उल्लेख छ । 

उनले स्वास्थ्यमा ३ र शिक्षामा २ बुँदा समेटेका छन् । उनले निशुल्क स्वास्थ्य सेवाका लागि बीमा कार्यक्रम प्रभावकारी, मुकुन्दपुरमा अन्तर्राष्ट्रिय स्तरको २ सय शैयाको अस्पताल, रजहर प्राकृतिक चिकित्सालयलाई प्रशिक्षण अस्पताल र बिश्वबिद्यालयका रुपमा स्तरोन्नति गर्ने घोषणा गरेका छन् भने पूर्ण ब्यवहारिक र निशुल्क शिक्षाको प्रक्रिया मिलाउँदै शैक्षिक प्राविधिक आविस्कार  केन्द्र निर्माण गर्ने योजना समेटेका छन् । 

उनले कृषिमा ५ बुँदा, पर्यटनमा ५ बुँदा, खेलकुदमा २ बुँदा, भौतिक तथा पूर्वाधार बिकासमा ७ बुँदा, र युवा ब्यवस्थापन र रोजगारमा ९ बुँदा समेटेर संमृद्ध नवलपुर बनाउने एजेण्डा सहितको घोषणा गरेका छन् । 


Tuesday, October 25, 2022



खगेन्द्र पराजुली, 

नवलपुर, कार्तिक ८ । 


नवलपुर प्रहरीले फर्मालिन राखेर काठमाण्डौ लैजादै गरेको गुणस्तरहिन र अबैध माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको पशु क्वारेन्टाईनबाट कागजात बनाएर कठमाण्डौको कालीमाटी पुर्याउने भनिएको २० क्वीन्टल माछा जिल्ला प्रहरी कार्यालय नवलपुरको हाताभित्र खाडलमा पुरेर नष्ट गरिएको हो । 

माछालाई लामो समय सड्न, गल्न र दुर्गन्धित हुन नदिन ब्यवसायीले फर्मालिन प्रयोग गर्दछन् तर फर्मालिन प्रयोग भएको माछा सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । फर्मालिनयुक्त खानेकुरा सेवनले मानिसको शरीरमा मन्द विष प्रवाह गर्ने भएकाले विषाक्त मानिन्छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख एवं प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार ढुवानी हुदै गरेको माछा कावासोतीमा चेकजाँच गर्ने क्रममा बाहिरै दुर्गन्ध आएको थाहा भएपछि थप अनुसन्धान गर्दा कागजात समेत नक्कली रहेको र फर्मालिन प्रयोग भएको पाईएपछि कार्वाही गरिएको हो । माछा नष्ट गर्ने बेला स्थानीय माछा ब्यवसायी समेतको सहभागिता रहेको थियो । 

प्रहरीले उक्त माछा अवैध रुपमा भारतबाट भित्रिएको जनाएको छ । नष्ट गरिएको माछाको बजार मुल्य ६ लाख रुपैया बरावरको हो । 

प्रहरीले माछा ढुवानीमा प्रयोग भएको लु २ च ६९०३ नम्बरको ट्रक समेत  नियन्त्रणमा लिएको छ ।  




खगेन्द्र पराजुली, 

नवलपुर, कार्तिक ८ ।

देवचुली १ स्थित नारायणी नदी किनारमा एकादशी मेला हुने भएको छ । कार्तिक १८ गते परेको यसवर्षको हरिबोधनी (ठूलो) एकादशीको अवसर पारेर १६ देखी १८ गतेसम्म मेला आयोजना हुने पत्रकार सम्मेलनमा जनाईएको छ ।  

दिब्य मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको संरक्षकत्वमा स्थानीय युवाहरुले मेलाको ब्यवस्थापन र संयोजन गर्ने गरी जिम्मा लगाईएको बन समुहका अध्यक्ष देवीलाल देवकोटाले बताए । 

देवकोटाले केउरेनीस्थित नारायणी नदीमा कार्तिके एकादशी स्नान गर्न आउनेहरुको भिड लाग्ने भएकाले यस क्षेत्रको धार्मिक महत्व प्रचार प्रसार गर्न र नारायणी र निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगल सफारीको बारेमा जानकारी दिदै आन्तरिक तथा वाह्य पर्यटक बृद्धि गर्ने, यस क्षेत्रका गन्तब्यको चिनारी, जानकारी गराउने उदेश्य अनुरुप तीन दिने एकादशी महात्मय धार्मिक मेला गर्न लागेको बताए । 

मेलाका बारेमा आफ्ना धारणा राख्ने क्रममा सिसवार मध्यवर्ती उपभोक्ता समूहका सचिव मनहरी पौडेलले मेलाले धार्मिक, साँस्कृतिक महत्वका साथै पर्यावरण, जल तथा बन्यजन्तुको संरक्षण जगेर्नाको सन्देस दिन यस्ता मेलाको महत्वपूर्ण भूमिका हुने बताए । 

एकादशी मेला समितिका व्यवस्थापक सुवास ओझाले मेलामा करिब एक सय स्टल रहने बताए । उनले बन समितिलाई मेलाको आम्दानीबाट १ लाख ५० हजार उपलब्ध गराउने र आम्दानीबाट बचेको रकमलाई नारायणी कनिारमा रहेको खेल मैदान मर्मत तथा स्तरोन्नतिमा लगानी गर्ने उदेश्य रहेको जनाएका छन् । मेलामा धार्मिक प्रवचन, सास्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न बस्तुका ब्यवसायिक स्टल रहने जनाईएको छ । 


Sunday, October 23, 2022



नवलपुर, कार्तिक ६ । 

नवलपुरमा निरन्तर भईरहेको बजार अनुगमनका क्रममा केही सुधार पाईएको छ । आज जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, नवलपुर उद्योग वाणिज्य संघ र पत्रकार महासंघ नवलपुरका प्रतिनिधिले मध्यविन्दुका दुई मुख्य बजार क्षेत्र चोरमारा र अरुणखोलामा संयुक्त रुपमा गरेको भएको अनुगमनमा प्रशासनिक प्रक्रियाका सामान्य त्रुटि बाहेक उपभोक्ता हितका विषयमा सुधार देखिएको पाईएको हो । 

अरुणखोलामा लेकबेशी खाजा घर एण्ड स्वीट कर्नरमा टोलीले अनुगमन गर्दा खुल्ला ठाउँमा मिठाई लगायतका खाद्य बस्तु उत्पादन (पकाउने) गर्दा ति तयारी बस्तुहरु खुल्ला ठाउँमा थिए । यसरी राख्दा खाद्य वस्तु दुषित हुने भएकाले सुरक्षित पकाउने ठाउँको ब्यवस्थापन गर्न र खाद्य बस्तुको  मुल्य, उत्पादन र म्याद सकिने मिति टाँस गर्न निर्देशन दिएको  छ । 

अरुणखोलाकै प्रकाश पवन किराना पसल निरिक्षण गर्दा बिक्रीका लागि राखिएका सामग्रीमध्ये नमूना छनोट गरी हेर्दा म्याद गुज्रिएका कुनै पनि सामान भेटिएनन् । मुल्यसूचीको बोर्ड राखिए पनि अपडेट नरहेको तथा ब्यवसाय दर्ताको कागजात र पसलमा टाँगिएको साइनबोर्डको नाम भिन्न भएकाले ति त्रुटिलाई सच्चाउन निर्देशन दिएको छ । 

अरुणखोलाकै सापकोटा मिठाई उद्योगमा भएको निरिक्षणमा भने खाजा घर सञ्चालन भएको पाईएपछि जुन प्रकृतिको ब्यवसाय गरिएको छ सोही अनुसारको दर्ता गर्न निर्देशन भएको छ । 

चोरमाराको आशिष मिष्ठान्न भण्डार र ह्युमन फुड बेकरी उद्योगमा पनि उत्पादित बस्तुको मुल्य, उत्पादन र उपभोग्य मिति उल्लेख गर्नुपर्ने निर्देशन छ ।   

यस्तै चोरमाराकै मध्यविन्दु दूध डेरी तथा किराना पसलमा भएको निरिक्षणमा दूधबाट बन्ने परिकारहरु उत्पादन भएको पाईएकोले त्यस्ता खाद्यबस्तु उत्पादन गर्न छुट्टै उद्योग दर्ता गर्न र सरसफाई राख्न निर्देशन दिएको छ । 

आइतवार भएको अनुगमनमा ति सवै ब्यवसाय दर्ता भएर सञ्चालनमा रहेको पाईएको छ । केही ब्यवसाय नगरपालिकामा मात्र दर्ता छन् भने केही नगरपालिका र घरेलु दुबैमा दर्ता भएका छन् । खाद्यबस्तु उत्पादन गर्ने प्रकृतिका ब्यवसाय मिठाई, बेकरी उद्योगलाई खाद्य गुणस्तर सम्वन्धि अनुज्ञा पत्र राख्न  निर्देशन गरेको छ । 

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भरत सापकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपाल प्रसाद चालिसे, नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल, पर्यटन तथा उद्योग कार्यालयका अधिकृत खडक बहादुर थापा, पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर अपरेटर नरेन्द्र देव भुसाल र पत्रकार महासंघ नवलपुरका सदस्य खगेन्द्र पराजुलीको सहभागिता थियो । 



खगेन्द्र पराजुली, 

नवलपुर, कार्तिक ६ । 


देवचुली नगरपालिका वडा नं. १६ मा रहेको नगर स्तरीय रजहर आयुर्वेद औषधालयमा आज धनवन्तरी जयन्ती तथा आरोग्य दिवस मनाईएको छ । 

आयुर्वेद उपचार पद्धतिको महत्वलाई जनमानससम्म पुर्याउन र आयुर्वेदको सकारात्मक पक्षको प्रचारप्रसार गर्न आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आयुर्वेद औषधालयमा मनाईएको देवचुली नगरपालिकाको सूचना शाखाले जनाएको छ । 

देवचुली नगरपालिका वडा नं. १६ का अध्यक्ष केशवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । 

नगर प्रमुख न्यौपानेले आधुनिक उपचारको बिकास हुनुभन्दा पहिला उपचार पद्धतिमा सवैभन्दा पुरानो उपचार विधि आयुर्वेदले स्वास्थ्य सेवामा खेलेको महत्वपूर्ण भूमिकालाई स्वीकार्नुपर्ने बताए । न्यौपानेले उपचारमा आयुर्वेद बिधि दीर्घ जीवनका लागि बरदान भएको स्पष्ट पारे । 

नगर प्रवक्ता एवं देवचुली ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्ले र कार्यपालिका सदस्य पार्वती कंडेल अर्यालले आयुर्वेदिक उपचार, औषधि र यसले मानव जीवन र स्वास्थ्यमा पार्ने प्रभावका बारेमा बोलेका थिए । 

आयुर्वेद शाखा देवचुलीका प्रमुख कृष्ण प्रसाद शर्माको सञ्चालन रहेको कार्यक्रममा वडावासी स्थानीयको उपस्थिति रहेको थियो । 


Saturday, October 22, 2022



नवलपुर, कार्तिक ५ । 

कावासोतीको वडा नं. ९ मा बालमैत्री स्थानीय शासन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । 

कावासोती नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तर्गत बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि वडास्तरीय अभिमुखीकरण भएको हो । 

बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरु लक्षित अभिमुखीकरणमा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, सहजकर्ता राधा देवी बोटे, किशोरी अभियान्ता आशा वि. क. र मान्सु न्यौपानेले सहजीकरण गरेका थिए । 

वडामा भएको कार्यक्रममा वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष जगदिश खतिवडाले बालमैत्री अभियानमा वडाबाट आवश्यक पर्ने र गर्न सकिने सहयोगमा सदैव सकारात्मक रहेको बताए ।

अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि र बालबालिका सहित ६० जनाको उपस्थिति थियो ।

बामैत्री नगर घोषणा अभियान सफल पार्न संचालित अभिमुखिकरण कार्यक्रम कावासोती नगरपालिका सामाजिक बिकास शाखाको समन्वयमा सवै वार्डमा बाल क्लबका पदाधिकारी र वार्डका सरोकारवालाहरु लक्षित जारी रहेको जनाईएको छ ।

कार्यक्रमलाई जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालानले सहयोग गरेको छ । 




नवलपुर, कार्तिक ५ । 

नवलपुर १ ख का स्वतन्त्र उम्मेदवार चोकनारायण काफ्ले (नारायण)ले जनताको सेवक बन्न उम्मेदवारी दिएको बताएका छन् । देवचुली पर्वत समाजका अध्यक्ष समेत रहेका काफ्लेले आफ्नो उम्मेदवारी कसैसँगको प्रतिस्पर्धा नभएर आम क्षेत्रबासी जनताको खुसीका लागि भएको बताए । उनले आफ्नो जित निश्चित रहेकाले आफु ढुक्क भएको सुनाए । 

स्थानीय निर्वाचन लगत्तै मंसिरमा हुने चुनावमा उम्मेदवारी दिने घोषणा गर्दै भेटघाटमा सक्रिय रहेका काफ्लेले आफ्नो क्षेत्रको भ्रमण गरिसकेका कारण अव पुनर्ताजगीका लागि आफ्नो चुनाव चिन्ह धारा चिनाउन मतदाता भेटघाटमा जाने बताए । 

आफूसँग गर्न नसकिने ठूला आश्वासन नहुने तर नारायणीको तिरदेखि देवचुलीको शिरसम्मको पूर्वाधार बिकास, गर्भको भ्रुणदेखि पञ्चतत्वसँगको मिलनसम्मको सुरक्षण अधिकारसहितको मानवीय बिकास मार्फत परिवर्तन गर्ने हुटहुटी आफ्नो लक्ष्य रहेको सुनाए । 

उनले यो निर्वाचनलाई खेलको रुपमा लिएकोले अनुशासित खेलाडीका रुपमा आफू मैदानमा उत्रिएको बताए । 

उनले जनतामा राजनैतिक दलप्रतिको बिश्वास गुमेका कारण र आफु बिभिन्न सामाजिक क्षेत्रमा रहेको कार्य अनुभव, पर्यटन, संस्कृति र ब्यवसाय समेतमा आफ्नो अनुभव भएकोले सबै क्षेत्रका शुभचिन्तक तथा क्षेत्रवासी मतदाताको माया नै आफ्नो जितको आधार भएको बताए । 

काफ्ले होटल व्यावसायी संघ नवलपुरका उपाध्यक्ष, लायन्स कल्ब अफ देबचुली दिब्यका अध्यक्ष समेत हुन् । 





Contact Form

Name

Email *

Message *