Tuesday, October 25, 2022



खगेन्द्र पराजुली, 

नवलपुर, कार्तिक ८ । 


नवलपुर प्रहरीले फर्मालिन राखेर काठमाण्डौ लैजादै गरेको गुणस्तरहिन र अबैध माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको पशु क्वारेन्टाईनबाट कागजात बनाएर कठमाण्डौको कालीमाटी पुर्याउने भनिएको २० क्वीन्टल माछा जिल्ला प्रहरी कार्यालय नवलपुरको हाताभित्र खाडलमा पुरेर नष्ट गरिएको हो । 

माछालाई लामो समय सड्न, गल्न र दुर्गन्धित हुन नदिन ब्यवसायीले फर्मालिन प्रयोग गर्दछन् तर फर्मालिन प्रयोग भएको माछा सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । फर्मालिनयुक्त खानेकुरा सेवनले मानिसको शरीरमा मन्द विष प्रवाह गर्ने भएकाले विषाक्त मानिन्छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख एवं प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार ढुवानी हुदै गरेको माछा कावासोतीमा चेकजाँच गर्ने क्रममा बाहिरै दुर्गन्ध आएको थाहा भएपछि थप अनुसन्धान गर्दा कागजात समेत नक्कली रहेको र फर्मालिन प्रयोग भएको पाईएपछि कार्वाही गरिएको हो । माछा नष्ट गर्ने बेला स्थानीय माछा ब्यवसायी समेतको सहभागिता रहेको थियो । 

प्रहरीले उक्त माछा अवैध रुपमा भारतबाट भित्रिएको जनाएको छ । नष्ट गरिएको माछाको बजार मुल्य ६ लाख रुपैया बरावरको हो । 

प्रहरीले माछा ढुवानीमा प्रयोग भएको लु २ च ६९०३ नम्बरको ट्रक समेत  नियन्त्रणमा लिएको छ ।  


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *