३०, असार देवचुली, रसिया विश्वकप फुटबलमा शुक्रबार हुने प्लेअफमा दुई युरोपियन टिम बेल्जियम र इंग्ल्यान्डको प्रतिस्पर्धा हुदैछ । सुरुवातबाटै राम्रो लयमा रहे पनि सेमिफाइनलमा बेल्जियम फ्रान्स तथा इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि तेस्रो स्थानका लागि एक–अर्काविरुद्ध प्रतिस्पधा गर्दै छन् । यसअघि समूह खेलमा बेल्जियम र इंग्ल्यान्ड भिडेका थिए । उक्त खेलमा बेल्जियम विजयी भएको थियो ।
वास्तविक परीक्षा
बेल्जियम र इंग्ल्यान्ड रसियामै दोस्रोपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । समूह चरणमा प्रतिस्पर्धा गर्दा दुवै टिमले खेललाई खासै महत्व दिएका थिएनन् । जसमा बेल्जियम विजयी भए पनि यी दुईको वास्तविक क्षमता भने देखिएको थिएन ।
२०१६ यता अपराजित बेल्जियम सेमिफाइनलको हारपछि तेस्रो स्थानको प्रतिस्पर्धाका लागि झरेको छ भने इंग्ल्यान्ड पनि लगातार १२ खेलपछि समूह चरणमा बेल्जियमसँग पराजित भएपछि क्रोएसियासँग दोस्रो हार बेहोर्दै पुनः बेल्जियमविरुद्ध मैदानमा उत्रिदैछ ।
दुवैको जित निकाल्ने विश्वास
विश्वकपको सेमिफाइनलमा पराजयपछि इंग्ल्यान्ड र बेल्जियमले प्रतियोगिताको सुखद अन्तका लागि तेस्रो स्थान हात पार्ने विश्वास लिएका छन् । बेल्जियमले आफ्नो राम्रो प्रदर्शनका बाबजुद फ्रान्ससँग पराजित भएको पीडालाई इंग्ल्यान्डविरुद्धको खेलले राहत दिने विश्वास लिएको छ । इंग्ल्यान्ड क्रोएसियासँग सुरुवाती अग्रता लिएर पनि पराजित भएको थियो ।
इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटले २८ वर्षपछि इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको भन्दै अब तेस्रो स्थानका लागि हुने खेलमा टिम जितकै लागि मैदानमा उत्रने बताए । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टिम सेमिफाइनलमा गोलका अवसरको सदुपयोग गर्न नसक्दा पराजित भएको भन्दै अब इंग्ल्यान्डविरुद्ध सम्हालिएर मैदानमा उत्रने बताएका छन् ।
इतिहासमा बलियो इंग्ल्यान्ड
इंग्ल्यान्ड र बेल्जियमबीच आपसमा २२ पटक प्रतिस्पर्धा भएको छ । तर, ठूला र औपचारिक प्रतियोगितामा जम्मा चारपटक भिडेका छन् । विश्वकपमा तीनपटक र युरोकपमा एकपटक प्रतिस्पर्धा भएको छ, जसमा १९९० को विश्वकपमा इंग्ल्यान्डले १–० को जित निकाल्दा अन्य दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक जारी विश्वकपकै समूह चरणमा इंग्ल्यान्डमाथि बेल्जियमले १–० को नतिजा निकालेको हो ।
अधिकांश मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डसँग बेल्जियम पराजित हुँदै आएको छ । २२ पटक एक–अर्काविरुद्ध भिड्दा बेल्जियमले ३ पटक मात्र जित निकाल्न सफल भएको छ । इंग्ल्यान्डले भने १५ पटक जितेको छ । ४ खेलमा बराबरी भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment