खगेन्द्र पराजुली,
कावासोती, ११ असार
बैदेशिक रोजगारका क्रममा मृत्यु तथा अंगभंग भएका अभिभावकका सन्ततिका लागी उपलब्ध गराइने छात्रबृत्ति रकम नवलपुरमा आईपुगेको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार वोर्ड सचिवालयको आर्थिक प्रशासन शाखाले नवलपुरका लागी ६ लाख १२ हजार रुपैयाको छात्रबृत्ति चेकमार्फत पठाएको हो ।
शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरद्धारा कागजातसहित सिफारीस भएका जिल्लाका ७१ जना बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागी छात्रबृत्तिको रकम कार्यालयमा चेकमार्फत प्राप्त भएको नवलपुर जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो ।
इकाई प्रमुख पोख्रेलका अनुसार छात्रबृत्तिको लागी त्यस्ता अभिभावकका बाबुनानी नछुटुन् भन्ने उदेश्यका साथ संकलन गरिएको तथ्याङ्क र कागजात पेश गरिएको आधारमा बैदेशिक रोजगार वोर्ड सचिवालयको निर्णय अनुसार रकम प्राप्त भएको जनाउँदै अझै ११ जनाको छात्रबृत्ति भने सिफारीसका कागजात पूर्ण नभएका कारण नआएको बताउनुभयो ।
वहाँले यसको सहजीकरणका लागी बैदेशिक रोजगारीका सन्दर्भमा जिल्लामा परामर्श प्रदान गर्दै आईरहेको सुरक्षित आप्रवासन परियोजना (सामी)सँगको सहयोग र सुचना प्रवाहका कारण छात्रबृत्ति प्राप्त गर्नेको संख्या वढेको जानकारी दिनुभयो ।
वहाँले सबै सम्वन्धित बिद्यालयमा खवर गरिसकेको बताउँदै एक सातासम्ममा छात्रबृत्ति बितरण गरिसक्ने जानकारी दिनुभयो । छात्रबृत्ति बितरणमा सामी अन्तर्गतको आप्रवासी श्रोत केन्द्रले सहजीकरण गर्ने जनाईएको छ ।
जिल्लाका सामुदायिक तथा संस्थागत बिद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म अध्ययन गर्ने बिद्यार्थीलाई प्रदान गरिने छात्रबृत्ति रकम नर्सरीदेखि ८ कक्षासम्मका लागी जनही ८ हजार रुपैंया र ९ देखि १२ कक्षासम्म अध्ययन गर्नेका लागी १२ हजार रुपैयाका दरले उपलब्ध भएको कार्यालयले जनाएको छ ।
बिगत ३ वर्षदेखि निरन्तर उपलब्ध भईरहेको छात्रबृत्ति गत वर्ष ४१ जनाले र त्यो भन्दा अगाडी एकमुष्ट नवलपरासी जिल्लाभरीका ९८ जना बिद्यार्थीले प्राप्त गरेको आप्रवासी श्रोत केन्द्र कावासोती परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment