Thursday, July 25, 2019


खगेन्द्र पराजुली
९ श्रावण, नवलपुर ।

देवचुली नगरपालिकाको वडा नं. ५ मा बर्षाका कारण १ घर जमिनमुनि भासिँदा र अर्को एक घरको गारो पल्टदा क्षति पुगेको छ । केउरेनी चोकदेखि उत्तरतर्फ सकला माबिदेखि पूर्व उत्तर कुमारबर्ती चोक नजिक रहेको एउटा घर भासिएको हो भने पहाडी गाउँ बन्दिपुरको एउटा घरको एकातर्फको गारो भत्किएर क्षति पुगेको हो । 

कुमारबर्ती चोकमा स्थानीय रामबहादुर बि.क.को टीनले छाएको भुईतलामाथी आँटी छापेर बनाईएको दुईपाखे घर जमिन सतहदेखि करीव १ फुट तल भासिएको वडाध्यक्ष शिवलाल सापकोटाले जानकारी दिनुभयो । 

६० वर्षिय राम वहादुर बि.क र उहाँकी श्रीमती गरी २ जना मात्र बस्दै आएको घर भासिएपछि अहिले स्थानीयको शरणमा आश्रय लिएर बस्नुपरेको छ । भासिएको घर पूर्ण रुपमा क्षति भएको जनाईएको छ । 


त्यस्तै, निरन्तर बर्षाका कारण वडा नम्वर ५ कै बिकट पहाडी गाउँ बन्दीपुरमा धनबहादुर गाहा मगरको घरको एकातिरको गारो नै भत्किएको छ । २ तले बार्दली सहितको ढुङ्गे घरको तल्लो तलाको एकातर्फको गारो पूर्ण क्षति भएको छ भने माथिल्लो गारोमा आशिंक क्षति पुगेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । 

लगातारको बर्षाले पहिरो खस्दा कदमपुर बन्दीपुर जाने ग्रामीण बाटोमा आवागमनमा समस्या परेको छ । घोर्ले दारसिंङमा माथीवाट ठूलो चट्टान सहितको पहिरोले बाटो अवरुद्ध पारेको छ भने अजिंगर गैरा र बेरौटाका २ स्थानमा पनि ठूलै पहिरो झरेको वडाध्यक्ष सापकोटाले जानकारी गराउनुभयो । यो ग्रामीण बाटोमा साना साना पहिरो ६–७ ठाउँमा गएको स्थानीयले आफूलाई जानकारी दिएको बताउनुभयो ।

स्थानीयले आकस्मिक अवस्थामा यहाँको जनजीवन कष्टकर भएको गुनासो गरेका छन् ।  यहाँ भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *