खगेन्द्र पराजुली,
२१ भाद्र, नवलपुर ।
स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा नवनिर्मित भोजन गृहको उद्घाटन भएको छ । देबचुली नगरपालिकाको गत आर्थिक बर्षको सार्वजनिक पुर्वाधार निर्माण योजनाको १५ लाख रुपैयाको लगानीमा निर्माण भएको भवनको आज शनिवार एक कार्यक्रमका बीच नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका मेयर श्रेष्ठले यहाँ सञ्चालित प्राकृतिक चिकित्साले थुप्रै अस्पतालमा चाहारेर निराश भएका दीर्घरोगीहरुको रोजाई बनेको धारणा राख्दै यहाँ आवासीय रुपमा बसेर प्राकृतिक उपचारको सेवा लिने बिरामीहरु तथा सेवाग्राहीका लागी ब्यवस्थित भान्सा तथा भोजन गृहका लागी भवन आवश्यकता परेको महशुस भएर नै अघिल्लो बर्षको सार्वजनिक पुर्बाधारको बजेटबाट भवन निर्माण गरेको सुनाउनुभयो ।
कार्यक्रमको अध्यक्षता सामुदायिक प्राकृतिक चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीले गर्नुभएको थियो भने देबचुली नगरपालिकाकी उप मेयर पार्वता तिवारी लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष क्षेत्रीले चिकित्सालयका बारेमा जानकारी गराउने क्रममा अहिले धेरै बिरामीको रोजाईमा प्राकृतिक उपचार पद्धति पर्न थालेकोले यस चिकित्सालयले अध्ययन र अनुसन्धानबाट प्रमाणित भएका उपचार बिधिलाई प्रयोगमा ल्याएको दावी गर्नुभयो ।
वहाँले बिशेष गरेर बुढो उमेरमा हुने स्वास्थय समस्याका बिरामीहरुले यहाँबाट सेवा प्राप्त गरेको उल्लेख गर्दै धेरै मात्रामा बाहिरको रासायनिक औषधि उपचारबाट सफल हुन नसकेपछि अन्तिम बिकल्पका रुपमा यहाँ आउने गरेको भेटिएको बताउनुभयो ।
त्यस्तै चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले सबैले प्राकृतिक उपचारलाई बिश्वास गर्न आग्रह गर्दै कारखानामा बन्ने औषधिको कच्चा पदार्थ र स्रोत भनेकै हाम्रै बरिपरि रहेका औषधिजन्य जडीबुटी नै हुन् तिनै जडीबुटीलाई बिभिन्न अन्य रासायनिक तत्वहरु मिलाएर औषधि बन्छ तर हाम्रोमा रसायन बिल्कुल हुदैन यहाँ बिमारको प्रकृति हेरेरै प्राकृतिक तरीकाबाटै माटो, पानी, हावा–वाफ, शुद्ध अर्गानिक आहारका खानेकुराबाट रोगका किटाणुसँग लड्नसक्ने क्षमतामा बृद्धि गर्नुका साथै प्राकृतिक ब्यायाम–योगाबाटै शरीरका बिकारजन्य पदार्थ निष्काशन गरेर सफल उपचार गर्छौ वहाँले भन्नुभयो ।
प्राकृतिक चिकित्सालयबाट उपचार सेवा लिन नेपालका उच्च तहका ब्यक्ति, राजनैतिक ब्यक्तित्व, पूर्वप्रधानमंत्री लगायतले चासो देखाएको छ ।
केही समय अगाडि पूर्व प्रधामन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो खुट्टामा देखिएको समस्याका बारेमा चिकित्सालयमै पुगेर परामर्श लिनुभएको थियो ।
गत बर्ष भारतीय सिने जगतकी अभिनेत्री मनिषा कोईरालाले समेत स्वास्थ्य परामर्श लिनुभएको हो ।
त्यस्तै, यही भदौं २७ गते शुक्रवार चिकित्सालयको १० औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनको उद्घाटनका लागी पूर्व प्रधानमंत्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थिति रहने चिकित्सालय स्रोतले जनाएको छ ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment