खगेन्द्र पराजुली,
२२ चैत्र, नवलपुर ।
कावासोती नगरपालिकाले १ हजार ६ सय ६६ परिवारलाई राहत खाद्य सामाग्री प्याकेज बितरण गरेको छ ।
लकडाउनका कारण नगरका दैनिक ज्याला मजदुरीमा आश्रित तथा बिपन्न नागरीकका लागी कावासोती नगरपालिकाले प्रत्येक वडालाई छुट्याएर पठाएको १९ लाख ९९ सय हजार २ सय ८० रुपैया बरावरको राहत रकमवाट कुल १ हजार ६ सय ६६ परिवारका लागी नगरपालिकाले बनाएको मापदण्डका आधारमा प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, १ केजी नून, आधा लिटर तेल र १ वटा नुहाउने तथा हात धुने साबुन बितरण गरेको नगर उपप्रमुख एवं कोरोना रोकथाम तथा राहत बितरण समितिका संयोजक प्रेमशंकर मर्दनियाले बताउनुभयो ।
वहाँले आज शनिवारसम्म राहत कोषमा ५ लाख ८१ हजार ३ सय पच्चीस रुपैया नगद तथा जिन्सी समेत गरी संकलन भएको तथ्याङक अद्यावधिक रहेको उल्लेख गर्नुभएको छ ।
उपप्रमुख मर्दनियाले अव भने नगरपालिकाद्धारा स्थापित राहत कोषमा दाता तथा सहयोगी संघसंस्था एवं ब्यक्तिहरुद्धारा प्रदान गरिएको प्याकेज वडामा पठाईने समेत बताउनुभएको छ ।
हिजोदेखि बितरण थालिएकोमा अव केही वडाहरुमा मात्र राहत पुर्याउन बाँकी रहेको छ ।
नगरपालिकाको राहत कोषमा आजसम्म ३ सय ११ प्याकेज संकलन भएको वहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रति एक प्याकेजको मुल्यांकन १२ सय बरावरको रकमले राखेको छ । जसअनुसार संकलित जिन्सीको मुल्यांकन ३ लाख ७३ हजार २ सय रुपैया रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, राहत कोषमा २ लाख ८ हजार १ सय पच्चीस रुपैंया नगद मौज्दात गरेको मर्दनियाले प्रष्ट पार्नुभयो ।
वहाँले संकलित जिन्सीमा ८ सय थान कपडाको मास्क, ९० वटा साबुन रहेको पनि उल्लेख गर्नुभयो ।
नगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार कावासोती १५ को अमलटारी मध्यबर्ती सामुदायिक होमस्टे र हमार दिगो गाउँ पर्यटन सहकारी संस्था ६० प्याकेज, कावासोती १२ को लामीचौर उपभोक्ता समितिले ५० प्याकेज, एन् आई सी एसिया बैक कावासोती शाखाद्धारा ५० प्याकेज, कावासोतीका सहयोगी युवाहरुको समुहले ५० प्याकेज, कावासोती ८ को नोबेल एकेडेमीले ५० प्याकेज,कावासोती १६ को नवलपुर एकेडेमीले ५० हजार बरावरको ४१ प्याकेज, कावासोती १२ को वाईजभिजन बोर्डिङ र कावासोती ११ को आईन्टाईन बोर्डिङ स्कुलले १० प्याकेज खाद्य सामाग्री प्रदान गरेका छन् ।
यस्तै कावासोती नगरपालिका अन्तर्गतका ३९ वटा सामुदायिक बिद्यालयहरुवाट १ लाख १ हजार रुपैंया, कावासोती ३ को सेण्ट जोसेफ स्कुलबाट ४० हजार रुपैंया, ईको कोरिडोरसमिति अन्तर्गत कावासोती १५ को गुन्द्रही ढकाहा, १० को कृष्णसार र शान्तिकुञ्ज, तथा ७, १२, १३ नम्वरको नमूना मध्यवर्ती सामुदायिक वनबाट ५० हजार रुपैया, मौलाकालिका रि–कण्डिसन हाउस कावासोती ३ बाट १२ हजार रुपैया तथा ब्यक्तिगत रुपमा नेपाल बातावरण पत्रकार मञ्च, नवलपुरका अध्यक्ष शालिकराम कोईरालाबाट ५ हजार १ सय पच्चीस रुपैंया प्राप्त भएको उल्लेख छ ।
यस्तै अन्य जिन्सी सामानमा रिटर्नी माईग्रेनमार्फत ३ सय थान मास्क र कावासोती ३ का मीनवहादुर लामाबाट ५ सय थान मास्क तथा ९० वटा डिटोल साबुन प्राप्त भएको जनाईएको छ ।
नगर उपप्रमुख एवं कोरोना रोकथाम तथा राहत बितरण समितिका संयोजक प्रेमशंकर मर्दनियाले अहिलेसम्म संकलित सामग्री बिपत ब्यवस्थापन समितिको बैठक बसी भोलीसम्ममा तथ्याङ्क बमोजिम वडा–वडामा पठाईने बताउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment