Friday, July 10, 2020


खगेन्द्र पराजुली, 
२६ असार, नवलपुर । 

लगातारको बर्षाका कारण गण्डकीका ३ जिल्ला प्रभावित भएका छन् । गण्डकीका कास्की, लमजुङ र म्याग्दीमा बाढी–पहिरोका कारण जनधनको क्षति भएको छ । 

अहिलेसम्म पुष्टि भएको जानकारी अनुसार कास्कीमा ८ जनाको, लमजुङमा ३ जनाको र म्याग्दीमा पनि ३ जनाको गरी १४ जनाको ज्यान गएको छ । त्यस्तै, कास्कीका छुट्टाछुट्टै ठाउँमा पहिरोमा परी १० जना घाईते भएका छन् भने लमजुङमा पनि ३ जना घाईते भएका छन् । 

यस्तै म्याग्दीमा पहिरोमा परी ३१ जना बेपत्ता भएको जनाईएको छ । 

पोखरा महानगरपालिका वडा नं. १८ को गोठादीमा आएको पहिरो घरमाथी खस्दा एउटा घरमा रहेको ६ जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । 

ज्यान गुमाउनेमा घरमुली ५० बर्षका  टंकबहादुर थापा, उनकी श्रीमती ४० बर्षीया सोममाया थापा, ६ बर्षका नाती सुवान थापा, घरमुलीकी साली  दमौलीकी सरस्वती श्रेष्ठ, सरस्वतीको छोरा ८ बर्षीय शितल श्रेष्ठ, र छिमेकी १९ बर्षीया किशोरी इशिका थापा छन् । 

यस्तै घाईते हुनेमा टंक थापाकी छोरीहरु १८ बर्षीया आशा थापा मगर र २२ बर्षीया पिंकी थापा मगर, पिंकीकी ५ वर्षिया छोरी प्रिशा थापा मगर, सरस्वती श्रेष्ठका १० बर्षीय छोरा सन्देश श्रेष्ठ, छिमेकी १९ बर्षीय अनिश तामाङ, छिमेकी १९ वर्षिया रश्मि थापा र  १९ वर्षीय राशी थापा छन् ।

उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

गएराति नै पोखरा महानगरपालिका–२५ हेमजामा एक घर पहिरोले पुरिँदा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, पोखरा महानगरपालिका–२६ स्थित पैतेमा पहिरोमा पुरिएर डल्लु भनिने अन्दाजी ४५ बर्षका विवेक विकको ज्यान गएको छ । 

त्यसैगरी पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।
यस्तै, लमजुङ बेँसीशहर नगरपालिका–७ को एक घरमा पहिरो खस्दा एकै परिवारका ३ जनाको ज्यान गएको छ । 

पहिरोमा परी ज्यान गुमाउनेमा ३३ वर्षका दीपक तामाङ, उनकी श्रीमती २६ वर्षीया विमाया तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा २६ वर्षीय सन्तबहादुर गुरुङ, २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाईएको छ  । 

यस्तै, म्याग्दी जिल्लाको विभिन्न स्थानमा पहिरोमा परी ३४ जना बेपत्ता भएकोमा ३ जनाको शव फेला परेको छ । शव फेला परेकामध्ये २ जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख महेन्द्र प्रसाद मरासिनीका अनुसार रघुगंगा ६ का ५० बर्षका नलीमान छन्त्याल र धौलागिरी ६ का तुल बहादुर केसीको पहिचान पुष्टि भएको छ । 

१ जनाको भने सनाखत भैनसकेको प्रहरीले जनाएको छ । 

बेपत्ता ३१ जनाको खोजी कार्य भैरहेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *