खगेन्द्र पराजुली,
२४ साउन, नवलपुर ।
गण्डकी प्रदेशमै सबैभन्दा धेरै संक्रमितको सूचीमा रहेको नवलपुर जिल्लामा सक्रिय संक्रमित २ जना मात्रै रहेका छन् ।
३ सय २८ जना संक्रमण पुष्टि रहेको जिल्ला नवलपुरमा आज २० जनाको पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै संक्रमणमुक्त हुनेको संख्या ३ सय २६ पुगेको छ ।
हिजो शुक्रवार प्राकृतिक आईशोलेशनमा रहेका २१ जना संक्रिय संक्रमितको स्वाव संकलन गरी परिक्षणका लागी पोखरा पठाईएको थियो ।
पिसीआर परीक्षणमा २० जनाको नेगेटिभ रिपोर्ट प्राप्त भएको र १ जनाको रिपार्ट प्राप्त भैनसकेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
सम्भवतः बाँकी १ रिपोर्ट पनि नेगेटिभ आयो भने नवलपुरमा हिजो शुक्रवार संक्रमण पुष्टि भएका बिनयी–त्रिबेणीका १ जना मात्रै संक्रिय संक्रमित रहने वहाँले बताउनुभयो ।
जेठ १ गते नवलपुरका एक पुरुषमा पहिलो संक्रमण पुष्टि भएको थियो । शुरुमा कोभिडको उपचारका लागी नवलपुरमा तयारी नभएकाले संक्रमण पुष्टि भएकाको भरतपुर अस्थायी कोभिड अस्पतालमा उपचार भएको थियो ।
नवलपुरमा कोभिडका संक्रमितको संख्यामा बृद्धि हुदै जाँदा स्थानीय, जिल्ला र प्रदेशको कोभिड रोकथाम तथा ब्यवस्थापन समितिको पहलमा प्राकृतिक चिकित्सालयलाई जिल्ला स्तरीय अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याउने निर्णय अनुरुप जेठ २४ गते ३ जना संक्रमितलाई आईशोलेशनमा राखेर चिकित्सालयले प्राकृतिक पद्धतिवाट उपचार थालेको थियो ।
चिकित्सालयले अहिलेसम्म ३ सय १९ जना कोभिड १९ संक्रमितमध्ये ३ सय १७ जनालाई निको बनाएको छ । जसमा स्याङजा, तनहुँ र धनुषाका ३ जना यही चिकित्सालयबाट निको भई बिदाई भईसकेका छन् ।
चिकित्सालयमा कोरोना संक्रमण पुष्टि भएर आएका संक्रमितमध्ये केही अन्य उच्च रक्तचाप, दम, स्वासप्रश्वासमा समस्या भएका बिरामीदेखी सुत्केरी, गर्भवती महिला र बालबालिका समेत थिए । तर, उनीहरुमा समेत जटिल समस्या नआएको समेत जनाईएको छ ।
अस्पतालको नियमित र जिम्मेवारीपूर्ण सेवा र ब्यवहारका कारण यहाँ संक्रमण पुष्टि भएर आउनेहरु छिटो निको भएर फर्केकोमा स्वास्थ्य प्रमुख चापागाईले खुशी प्रकट गर्दै सबैलाई धन्यवाद दिनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment