खगेन्द्र पराजुली
कावासोती, १३ जेठ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले गण्डकी प्रदेश सहित देशैभरको जनजीवन प्रभावित बनेको छ ।
प्रदेशका एघारै जिल्लामा बन्दको प्रभाव सामान्य परेको छ भने हिजो अस्तिको तुलनामा सवारीसाधन चल्न सकेको छैनन् । यहाँ विहानी सत्रमा सञ्चालन हुने क्याम्पसमा पठनपाठन ठप्प बनेको छ । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधरण मर्कामा परेका छन् । निजी सवारी साधनको पहुचँ नभएका यात्रु हिडेरै गन्त्व्य पुग्न बाध्य भएका छन् ।
ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षामा कडाई गरिएको छ । बन्द आह्वानको पूर्वसन्ध्यामा गएराती गण्डकी प्रदेशको नवलपुरका अरुणखोलामा पेट्रोल बम र बुलिङटारमा सिलिण्डर बम बिस्फोट भएको छ । बिस्फोटबाट कुनै प्रकारको मानवीय क्षति नभए पनि अरुणखोलामा लु २ ख १०८ नम्वरको ट्रकलाई लक्षित गरी प्रहार भएको पेट्रोल बमका कारण ट्रक दुर्घटनामा परी क्षति भएको नवलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, पोखरा सहित कास्कीका ३ ठाउँमा बम भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा हिजो साँझ भेटिएकोप्रेसर कुकर बम आज बिहान निस्क्रिय पारिएको छ । नेपाली सेनाको डिस्पोजल टोलिले बम निश्क्रिय गरेको खवर छ ।
यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी र कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको भन्ने खवर आएसँगै सेनाको टोलि त्यसतर्फ जाँदै गरेको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै तनहुँमा बिहानैदेखी वजार, शिक्षण संस्था र सवारी आवागमनमा बन्दको प्रभाव परेपनि अहिलेसम्म बम बारुदको त्रास, प्रभाव र क्षति नभएको तनहुँका सञ्चारकर्मी राजकुमार आलेले जानकारी दिनुभएको छ । सञ्चारकर्मी आलेका अनुसार तनहुँको बेलभञ्ज्याङमा भेटिएको शंकास्पद बस्तु कित्लीमा बारुद र मुसेखोला राखिएको राईसकुकरमा माटो र गिटि भेटिएको छ । पृथ्वी लोकमार्ग अन्तर्गत तनहुँका २ ठाउँमा भेटिएको शंकासपद बस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।
नेपाल बन्दका कारण तनहुँका मुख्य बजार दमौली ,दुलेगौंडा ,खैरेनीटार ,भिमाद बन्द, शैक्षिक सस्था र बैंकिङ पुर्ण रुपमा बन्द रहेका छन् भने यातायातका साधन आवागवन ठप्प रहेको छ ।
यसैगरी बाग्लुङबाट सञ्चारकर्मी रोजी मगरबाट प्राप्त खवर अनुसार बाग्लुङ बजार र बुर्तिबाङ क्षेत्र गरी र दुई स्थानमा शंकास्पद बस्तु भेटिएको खवर छ । त्यहाँका स्थानीय अहिले त्रसित भएका छन् ।
बागलुङ नगरपालिका – २ शिवधाराचोकमा एक शंकास्पद बस्तु फेला परेको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले शंकास्पद बस्तु भेट्टएको छ, बम हो वा होईन भन्ने नेपाली सेनाको बम डिस्पोजल टोलीले हेरेपछी मात्र थाहा हुने जानकारी दिनुभयो ।
यसैगरी स्यांजाबाट सञ्चारकर्मी केपी खनालले स्याङ्जामा बिहानैदेखी वजार, शिक्षण संस्था र सवारी आवागमन ठप्प रहेको जानकारी दिनुभएको छ । स्याङजाका पुतलीबजार, वालिङ, गल्याङ, चापाकोट बजार पुर्ण रूपमा बन्द रहेका छन् । अहिलेसम्म बम बारुदको त्रास, प्रभाव र क्षति नभएको प्रहरीको भनाइ रहेको सञ्चारकर्मी खनालले बताउनुभएको हो । भर्खरै स्याङजाको मिर्मीमा शंकास्पद बस्तु भेटिएको खवरसँगै सेनाको टोली त्यसतर्फ जादै गरेको छ ।
विप्लव माओवादीले भोजपुरमा आफ्नो कार्यकर्तालाई गोली हानी निर्ममतापूर्वक मारिएको भन्दै आज विरोध स्वरुप बन्दको आह्वान गरेको हो । यसैबीच हिजो आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विप्लव समुहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थानमा विस्फोट हुदाँ ४ जनाको मृत्यु भएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment