खगेन्द्र पराजुली
कावासोती, १४ जेठ
नवलपुरका स्थानीय तहहरुले जिल्ला समन्वय समितिले गरेको परिपत्रको जवाफ नदिएपछि स्थलगत अनुगमनमा जाने भएको छ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेमगरका अनुसार यस भन्दा अगाडी धेरैपटक नवलपुरका नदीजन्य पदार्थका सम्वन्धमा स्थानीय तहलाई परिपत्र गरेको तर सो परिपत्रको जानकारी नआएपछि गत जेठ १० गतेसम्ममा आ आफ्ना पालिका क्षेत्रभित्रका खोला र नदीजन्य पदार्थको ढुंगा, गिटी, बालुवाको निकासी, बितरण तथा उत्खनन्का सम्वन्धमा भएका प्रक्रिया के कसरी भैरहेको छ भन्ने बस्तुगत रिपोर्ट पठाउन जेठ ६ गते पनि पछिल्लो पटक निर्देशनात्मक पत्र पठाउँदा पनि कुनै जवाफ नउआएपछि जिससको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयोे ।
आज कावासोती स्थित समन्वय समितिको कार्यालयमा नदीजन्य पदार्थका सम्वन्धमा निर्णय गर्न बसेको जिल्ला अनुगमन समितिको बैठकले नवलपुरका सबै नगरपालिका र गाउँपालिकामा रहेका खोला तथा नदीजन्य क्षेत्रको अनुगमन गर्दै स्थानीय तहले गरेको ब्यवस्थापकीय भूमिकाको समेत अनुगमन निरिक्षणका साथै मुल्याङ्कन गर्ने र सुझाव दिने निर्णय गरेको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवं जिल्ला अनुगमन समितिका अध्यक्ष चेसराम आलेले जानकारी गराउनुभयो ।
बैठकले जिल्ला समन्वय समितिका उप प्रमुख शारदा बिश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय बिशेष अनुगमन समिति गठन भएको बताउँदै प्रमुख आलेले गठित बिशेष अनुगमन समितिले ३ दिनभित्रमा सम्पूर्ण पालिकाका नदीजन्य पदार्थका सम्वन्धको तथ्याङ्क सहितको प्रतिवेदन कार्यालयमा पेश गर्ने गरी अनुगमनमा लाग्ने जनाउनुभएको छ ।
जिसस उप प्रमुख तथा बिशेष अनुगमन समितिका संयोजक शारदा बिश्वकर्माले नवलपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरु मापदण्ड अनुसार सञ्चालन भए नभएको बिवरण सहितको प्रतिवेदन जिससमा पेस गर्न नवलपुरका आठ वटै स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
जिल्ला समन्वय समितले गर्ने अनुगमनका वारेमा प्रष्ट्याउँदै जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले भन्नुभयो– नदीजन्य पदार्थको ठेक्कापट्टा, सम्झौता, कार्यादेश, उत्खनन्का बिधि प्रक्रियाका शर्तहरुको अनुगमन गर्ने अधिकार र कर्तब्य स्थानीय तहमा छ । स्थानीय तहले बातावरणीय ब्यवस्थापन योजना र स्थानीय अनुगमनको योजनाको परिधिमा रहेर कार्य गर्नुपर्ने हुन्छ सो अनुगमनको सुपर अनुगमन जिससले गर्न लागेको हो ।
बैठक जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख दीपकराज नेपाल सहित जिल्ला वन डिभिजन, पूर्वाधार बिकास, जिल्ला प्रहरी, शसत्र प्रहरी लगायत जिल्ला कार्यालय प्रमुखहरुको उपस्थितिमा बसेको थियो । बिशेष अनुगमन समितिमा प्रशासन, अदालत, वन डिभिजन, प्रहरी लगायत कार्यालयका प्रतिनिधिहरु रहेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment