खगेन्द्र पराजुली
कावासोती, जेठ २८
२० औं राष्ट्रिय सरसफाई सप्ताहको अन्तिम दिन आज कावासोतीमा अन्तरक्रिया कार्यक्रम भएको छ । कावासोती एफ्एम् र जागृति बाल तथा युवा सरोकार नेपाल जेसिवाइसिएन् को आयोजना तथा कावासोती नगरपालिकाको सहकार्यमा कावासोती नगरपालिकाको सभाहलमा कार्यक्रम भएको हो ।
नवलपुरको सरसफाई ब्यवस्थापन, सम्भावना र दायित्व बिषयक अन्तक्रियामा डिजिटल कार्यपत्र प्रस्तुत गर्दै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देबचुली, प्रगतिनगरका अध्यक्ष खिमानन्द भुसालले सुरक्षित पानी प्रवाहमा थुप्रै चुनौतीहरु रहेको खुलाउनुभयो ।
वहाँले खानेपानीका मूल मुहानको चुनौती, स्रोत बिबाद, पहाडी भेगमा बस्ती छिरलिएका कारण पानी बितरणमा समस्या, समथर ठाउँमा सिमान्त बस्तीहरुमा उपभोक्तामा धारा जडानदेखि महशुलमा लाग्ने शुल्क भुक्तानीको समस्या, योजनाहरु सञ्चालनमा बाटो निर्माण गर्दा पाइपहरु फुट्ने, कालोपत्रे गर्दा पुरिने लगायतका चुनौतीहरु रहेको वताउनुभयो ।
कार्यक्रमका कार्यपत्र प्रस्तोता एवं प्रगतिनगर खानेपानीका अध्यक्ष भुसालले नवलपुर भित्र दर्ता भएर वा नभइकन सञ्चालनमा आएका १ सय ५३ वटा साना ठूला खानेपानी तथा सरसफाई उपभोक्ता समिति रहेको तथ्याङ्क प्रस्तुत गर्दै यसमा ५ वटा देखि १७ सय धारा प्रयोग गर्ने उपभोक्ताहरु रहेको वताउनुभयो ।
नवलपुरमा अझै पनि ३ घण्टा हिडेर पानीको प्रवन्ध गर्नुपर्ने अवस्था रहेको दर्साउँदै ७० प्रतिसत घरधुरीमा मात्र पानीको पहुँच स्थापित भएको बताउनुभयो । जिल्लामा पूर्वपश्चिम लोकमार्गसँग छोइएका १७ वटा उपभोक्ता समिति रहेको वताउँदै अहिले सडक बिस्तारका क्रममा यस क्षेत्रमा खानेपानीका पाइप लगायतका पूर्वाधारहरुमा ठाउँसारी लगायतका समस्या पनि चुनौतीको रुपमा देखिएको वताउनुभयो ।
वहाँले चुनौतीहरु देखाइरहदा सम्वन्धित सरोकारवाला पक्ष र निकायहरुले समन्वय गरेमा यसको ब्यवस्थापन गर्न सहज हुने समेत वताउनुभयो । त्यस्तै फोहोर ब्यवस्थापनमा देखिएका चुनौतीहरुको न्यूनीकरण गर्न फोहोर जम्मा गर्ने ठाउँमा अन्य बिकासका कार्यक्रमसँग जोड्नुपर्ने, सचेतना जगाउनुपर्ने फोहोरलाई ब्यवस्थित गर्न पनि सिसि क्यामरा जडान गर्नुपर्ने लगायतका प्रक्रिया अपनाउने हो भने धेरै सहज हुने वताउनुभयो ।
वहाँले अन्त्यमा काठमाण्डौको अवस्था हेरेर हामी नगर उन्मुख नवलपुरवासी पनि सचेत हुनुपर्ने वताउँदै कहिलेकाही कठोर भएर पनि अटेर गर्नेलाई दण्ड वा सजायँको निति समेत अवलम्वन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सरोकार सम्वद्ध संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कावासोती एफ्एम्का सञ्चालक समिति अध्यक्ष बिद्रोही गिरीले गर्नुभएके थियो भने स्टेशन मेनेजर दयाराम आचार्यले सहजीकरण गर्नुभएको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment