Thursday, August 8, 2019

file photo
२३ साउन, पोखरा । 

कालीगण्डकी डाइभर्सन बनाउन सबैलाई मनाउने स्वघोषणा गरेका नेकपा महासचिव विष्णु पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले कडा जवाफ दिएका छन् । नेकपा प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका छन्, उहाँले अर्को विष्णु वा ब्रहृमा, महेश्वर ल्याए पनि सम्भव छैन ।’

सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा नेकपा महासचिव पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पाल्पा, स्याङ्जा, तनहुँबासीलाई मनाउने जिम्मा आफ्नो भएको बताएका थिए । उनले भनेका थिए, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’

तर गण्डकीका मुख्यमन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई आग्रह गरेका छन् । ‘अर्को विष्णु, ब्रह्मा, महेश्वर ल्याएपनि सम्भव छैन,’ उनले भनेका छन् । उनको प्रश्न छ- कालीगण्डकी डाइभर्सन किन चाहियो रु ५०-६० मेगावाट बिजुली उत्पादन गर्ने यो परियोजना नबन्दा नेपाल अँध्यारो हुन्छ र ? 

महासचिव पौडेलले धेरै ठाउँमा कालीगण्डकी डाइभर्सनबारे बोलेको सुनेको तर अहिलेसम्म आफूलाई केही नभनेको उनले सुनाए । मुख्यमन्त्री गुरुङले भने, ‘मैले धेरै ठाउँमा उत्तर पनि दिएको छु, यो पृथ्वीसुब्बाको निजी मामिला होइन ।’

संघीय शासन प्रणालीमा साझा नदी, खानी जस्ता प्राकृतिक स्रोतको प्रयोग कसरी गर्छन् भन्ने सबैले बुझ्नुपर्ने उनले बताए । पौडेल अर्थमन्त्री भएको बेला ल्याएको कार्यक्रम भन्दैमा लागू नहुने भन्दै मुख्यमन्त्री गुरुङले अघि भने, ‘त्यस्तो हुने हो भने त ज्ञानेन्द्रको शासन मान्नुपर्‍यो किनकी उनी पनि कुनै दिन शासक थिए ।’

उनले हिजोका कुरा लागू गर्छु भन्ने प्रयास छाड्न पार्टी महासचिव पौडेललाई सुझाव दिए ।

विष्णु पौडेल अर्थमन्त्री भएको बेला कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो  


मुख्यमन्त्री गुरुङले कपिलवस्तु र रुपन्देहीमा सिंचाइका लागि परियोजना बनाउन खोजेको हो भने कालीगण्डकी छाडेर राप्ती नदीमा डाइभर्सन बनाउन चुनौती दिएका छन् । ‘कालीगण्डकी त प्रदेश ४ र ५ बीचको नदी भइसक्यो । गण्डकी प्रदेशले गर्दा पनि ५ नम्बर प्रदेशको सहमति चाहिन्छ, ५ ले गर्दा हाम्रो सहमति चाहिन्छ,’ उनले भने, ‘हाम्रो सहमति नै छैन । तनहुँ स्याङ्जा, नवलपुर सुख्खा बनाएर हाम्रो पानी भैरहवा जान किन दिन्छौं र ?’

कालीगण्डकी नदी डाइभर्सन गरेर तिनाउमा मिसाउँदा तनहुँ, स्याङ्जा, नवलपुर मरुभूमि बन्ने उनको दाबी छ । ‘४ जिल्लालाई मरुभूमि बनाएर २ जिल्लालाई हराभरा बनाउने कुरा पनि कहीँ तर्कसंगत हुन्छ ?’ मुख्यमन्त्री गुरुङले प्रश्न गरे ।

कालीगण्डकी डाइभर्सन बन्नु हुँदैन भन्नुका पछाडि वैज्ञानिक कारण पनि भएको उनले सुनाए । ‘जहाँ देचुली बरचुली डाँडाले पानी छेकिदिन्छ, त्योभन्दा तल पानी पर्छ, माथि पर्दैन,’ उनी भन्छन्, ‘अब त्यो ठाउँमा जति गुल्जार, हरियाली भइरहेको छ, कालीगण्डकीकै कारण हो । यदि डाइभर्सन बन्यो भने आसपासका उपत्यका मरुभूमि बन्छन् । कोही पनि मान्छे बस्न सक्दैनन् ।’

विष्णु पौडेल अर्थमन्त्री भएको बेला कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो । झण्डै ४० अर्ब लागतको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।

तर गण्डकी प्रदेश सरकारसँगै पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका जनता पनि डाइभर्सनको विरोधमा छन् । कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाटसम्मका थुप्रै धार्मिक क्षेत्रलाई समाप्त गर्ने भन्दै स्थानीय जनप्रतिनिधि पनि विरोधमा छन् ।


अनलाईन खवरबाट साभार गरिएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *