पोखरा, १५ भाद्र ।
पोखरा महानगरपालिका ४ रामकृष्णटोलमा साढे ६ रोपनी क्षेत्रफलमा फुटसल मैदान तथा व्यायामशालासहितको ‘स्पोर्टस् क्यासल’ सञ्चालनमा आएको छ ।
पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ लगायत खेल क्षेत्रमा संलग्न ६ युवाको समूहले सञ्चालनमा ल्याएको उक्त स्पोर्टस क्यासल शनिबार गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे ।
फुटसल खेलको विकासमार्फत राष्ट्रिय खेलाडी उत्पादन गरी देशको खेल क्षेत्रमा योगदान गर्ने उद्देश्यले क्यासल सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले बताए ।
चन्द्रसहित अनमोल पालिखे, विजया गुरुङ, विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङले ६ करोड लगानीमा क्यासल सञ्चालनमा ल्याएका हुन् । फुटसल मैदानमा सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आवश्यक संरचना निर्माण गरिएको सञ्चालक अनमोल पालिखेले बताए ।
१ पटकमा ८० जनासम्मले अभ्यास गर्न मिल्ने गरी आधुनिक उपकरणसहितको व्यायामशालासमेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । निश्चित शुल्कमा व्यक्तिगत फुटसल प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था गरिएको बताउँदै पालिखेले एकै थलोभित्र खेलकुद तथा व्यायाम गर्न सकिने बताए ।
मन्त्री गुरुङले शारीरिकरुपमा स्वस्थ हुन सके मानसिक रुपमा पनि तन्दुरुस्त हुने धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहभागितामा देशलाई समृद्ध बनाइने स्पष्ट पारे ।
प्रदेशसभा सदस्य विन्दुकुमार थापाले व्यक्तिगत अनुशासन तथा युवालाई कुलतमा फस्नबाट बचाउनसमेत खेलकुद अपरिहार्य रहेको भनाइ राखे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल ह्याडबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ लगायतले स्पोर्टस् क्यासल सञ्चालनसँगै खेलकुदको विकासमा टेवा पुग्ने बताए ।
समाधान दैनिकबाट
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment