Wednesday, October 23, 2019


खगेन्द्र पराजुली, 
६ कार्तिक, नवलपुर । 

देबचुली नगरपालिका बडा नम्वर १३ अन्तर्गत पर्ने दलदले बजारलाई ब्यबस्थित गर्न वडा कार्यालय सहित बजार क्षेत्रमा क्रियाशील संघसंस्था लगायत सरोकारवालाहरु होमिएका छन् । 

गत अशोज २९ गते वडाको पहलमा आयोजित एक कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सुरक्षा निकायका प्रतिनिधि, वजार ब्यवस्थापन, उद्योग बाणिज्य संघ, टोलसुधार समितिका प्रतिनिधिको उपस्थितिमा बजारलाई स्मार्ट अवधारणामा लैजान अभियान थाल्ने निस्कर्ष निकाले पश्चात अहिले सक्रियता बढेको हो । 

क्रमिक रुपमा बिकसीत हुँदै गईरहेको दलदले बजारलाई अहिले देखि नै ब्यवस्थित गर्न पहल नगर्ने हो भने बजारको सुन्दरता बिग्रन सक्ने हुँदा सबैलाई सिष्टममा ल्याउन आग्रह गरिएको वडाध्यक्ष डिलबहादुर खत्रीले बताउनुभयो । 

अध्यक्ष खत्रीले दलदले बजार मुलुककै केन्द्रिय सडकसँग जोडिएको मात्र नभई नवलपुरका पहाडी क्षेत्र प्रबेशको मुख्यद्वार रहेको यतिमात्र नभएर पुर्बी पाल्पा हुदै स्याङ्जा, तनहुँको भिमाद हुदै प्रदेश मुकाम पोखरा लगायत भ्रमण गर्ने नाका पनि भएकाले यसलाई ब्यवस्थित गर्नु अति आवश्यक भएको वताउनुभयो । 

वहाँले पहिलो चरणमा बजारलाई ब्यवस्थित गर्न सडकमा र पसल अगाडी समेत सवारी साधन पार्किङ् नगर्न, बिक्रीका लागी राखिने कुनै पनि बस्तुहरु सटरभन्दा बाहिर नराख्न, पसल भवनको संरचनाभन्दा बाहिर स्ट्याण्ड बोर्ड नराख्न, सार्वजनिक यातायातका साधन जीप, टेम्पो अस्थायी पाकिङ् स्थल बाहेक अन्यत्र पार्किङ् नगर्न, फोहोरलाई उचित स्थानमा बिसर्जन गर्न अनुरोध गरिएको बताउनुभयो । 

वहाँले तिहारसम्म अब्यवस्थित देखिएका ठाउँमा पुगेर अभियानका बारेमा आग्रह गरिने बताउनुभयो । 

त्यस्तै, देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले दलदले वजार क्षेत्रमा रहेका वजार ब्यवस्थापन समिति, क्लवहरु, टोल सुधार समिति समेतको सक्रियता बढेकोले यो अभियानले सार्थकता पाउनेमा आशाबादी रहेको बताउँदै सबै खाले ब्यवसायी तथा नागरीकले सहयोग गर्नेमा बिश्वास गर्नुभएको छ । 

अध्यक्ष सापकोटाले केही केही ठाउँमा पहिले नै बनिसकेका भवन संरचनाले समस्या पारे जस्तो देखिए पनि पहिलो चरणमा चालिएका कदमले नै केही मात्रामा परिवर्तनको आभाष भएको जिकिर गर्नुभयो । 

वहाँले यहावाट पहाडी क्षेत्रमा चल्ने करीव २५ वटा जीप तथा बस र स्थानीय रुपमा चल्ने करीब ५० टेम्पोका लागी दलदलेस्थित मुख्य सडककै आडमा ५ कट्ठा क्षेत्रफलमा अस्थायी पार्किङ्को ब्यवस्था गरिएको समेत जानकारी दिनुभयो । 

स्थानीय ब्यवसायीहरुले बजारलाई ब्यवस्थित गर्न थालिएको यो गतिबिधि स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले पहुँचवालालाई छुट र पहुँच नभएकालाई मात्र नीति नबनोस् भन्ने सुझाव दिएका छन् । 

आज पनि सुचित गराईएको अभियानमा वडाध्यक्ष डिलबहादुर क्षेत्री, वडासदस्यहरु, अस्थायी प्रहरी चौकी दलदलेका प्रमुख अर्जुन राना सहितको टोली, औधोगिक सुरक्षा बेश दलदलेका प्रमुख अमर गुरुङ सहितको टोली, देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, देबचुली होटल ब्यवसायीका अध्यक्ष शुरेश पाण्डे लगायत टोलसुधार एवं क्लवका प्रतिनिधिको समूहले पसल ब्यवसाय गरेर बसेका ब्यापारीलाई अभियानलाई सहयोग पुर्याउन आग्रह गरेका थिए ।



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *