खगेन्द्र पराजुली,
२८ अशोज, नवलपुर ।
कोपिला नेपाल पोखराको आयोजना र जर्मन कुष्ठरोग निवारण संघको सहकार्यमा देबचुलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज देबचुली स्थित दलदलेमा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धमा सरोकारवालाहरुको भुमिका बिषयमा अन्तरक्रिया भएको हो ।
देबचुली नगरपालिकाका ७, ९, १०, ११ र १२ नम्वरका ५ वटा वडाका अपाङ्गता भएका ब्यक्ति र कडा प्रकृतिका अपाङ्ता भएका ब्यक्तिका परिवारहरुको उत्थानका पक्षमा गतिबिधि तथा क्रियाकलाप सञ्चालन गर्दै आएको कोपिला नेपाल पोखराका कार्यकारी निर्देशक बिनाकुमारी सिलवालले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले आफुलाई यो संस्थाले सञ्चालन गर्दै आईरहेका क्रियाकलापको बारेमा जानकार नरहेकोले नगरपालिकामा हुने जुनसुकै गतिबिधिको सुचना हुनुपर्ने बताउनुभयो ।
शुरुमा कडा रुपमा प्रस्तुत हुनुभएका मेयर श्रेष्ठले मन्तब्यकै क्रममा पछि भने कोपिला नेपालले यहाँ ल्याएको योजना र कार्यक्रमहरु सराहनीय रहेको भन्दै यो कार्यक्रमको निरन्तरतासँगै नगरपालिकासँगको समन्वय र सहकार्यमा नगरका अन्य वडालाई समेटेर लैजान सुझावसाथ आग्रह गर्नुभयो ।
यसो गरेमा योजना तथा कार्यक्रम प्रभावकारी हुनुका साथै लक्षित बर्ग लाभान्वित हुने वहाँको तर्क थियो ।
मेयर श्रेष्ठले अर्को कार्यक्रममा उपस्थिति जनाउन जान ढिला भएका कारण संस्थाले गरेका कार्यक्रमको प्रतिवेदन प्रस्तुत लगत्तै पहिलो बक्ताका रुपमा आफ्ना बिचार राख्नुभएको थियो ।
अन्तरक्रियामा फरक क्षमता भएका ज्ञानप्रसाद भुसालले मेयर श्रेष्ठले सतही रुपमा नवुझी अभिब्यक्ति दिएकोप्रति गुनासो गर्नुभयो । भिन्न क्षमता भएका भुसालले कोपिला नेपालले गरेको सहयोग नगरपालिकाले अपाङ्गताका लागी गरेका कार्यक्रमभन्दा धेरै गुणा प्रभावकारी भएको दावी गर्नुभयो ।
वहाँले नगरपालिकाले समाजकल्याण लगायत बिभिन्न निकायबाट आएको सहयोगलाई प्रभावकारीता भन्दा पनि काम सक्ने मेलोमा बितरण गरेको समेत आरोप लगाउनुभयो ।
कार्यक्रममा अपाङ्गता सम्वन्धि संबैधानिक र कानूनी प्रावधानका कारेमा कोपिला नेपाल पोखराका सल्लाहकार प्रकाशराज वाग्लेले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा देबचुली नगरपालिकाका सत्रै वडाका वडाध्यक्ष, सरोकारवाला संस्थाका प्रतिनिधि, अपाङ्गता भएका ब्यक्ति र परिवारका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वहुमुखी अपाङ्ता समुह देबचुली ११ का अध्यक्ष भोलानाथ धितालको अध्यक्षता तथा कोपिला नेपालद्वारा नवलपुरका ४ नगरपालिकामा सञ्चालित योजना हेर्ने लाईन मेनेजर सागरमणी ढुंगानाको स्वागत र कोपिला नेपालद्वारा देबचुलीमा सञ्चालित कार्यक्रम हेर्ने कर्मचारी कमला सापकोटा भुसालको सञ्चालनमा भएको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment