Saturday, October 19, 2019


खगेन्द्र पराजुली,
२ कार्तिक, नवलपुर । 

आज शनिबार नवलपुरबाट बिश्वकै दुर्लभ डंगर प्रजातीका गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएकोे छ । 

नवलपुरको कावासोती १३ मा रहेको चितवन राष्ट्रिय निकुञ्ज लामीचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने नमूना मध्यवर्ती सामुदायिक बनमा अवस्थित जटायु रेष्टुरेण्ट क्षेत्रमा एक कार्यक्रमकाबीच गिद्ध प्रकृतिमा छोडिएको जटायु रेष्टुरेण्ट ब्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिनुभएको हो । 

जटायु रेष्टुरेण्टमा भएको औपचारीक कार्यक्रम समापनपछि उपस्थित सरकारी, गैरसरकारी, दातृ संस्था लगायत सरोकारवाला संरक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको रोहोवरमा प्राकृतिक बासस्थानमा गिद्ध छोडिएको हो । 

कार्यक्रममा राण्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षणका महानिर्देशक गोपालप्रकाश भटराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता संयोजक चौधरीले गर्नुभएको हो । 

चौधरीले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको गिद्ध पुनस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार २०७५ माघमा चितवनको गिद्ध प्रजनन केन्द्रमा जन्मीएका र हुर्काईएका गिद्धलाई कावासोतीको जटायु रेष्टुरेण्टबाट प्रकृतिमा छाडिएको बताउनुभएको हो । 

९ महिनाका १३ वटा गिद्धलाई शनिबार प्राकृतिक बासस्थानमा छाडिएको हो । जालीभित्र पनि खुल्ला रुपमै हुर्काईएका ती १३ डंगर जातका गिद्धका बच्चा प्रकृतिसंग घुलमिल हुन सक्ने भएपछि खुल्ला प्रकृतिमै छाडने गरिन्छ ।

यसरी छाडिने गिद्धको अवस्थाको बारेमा बुझ्न तीनका शरीरमा ट्याग, जिपिएस ट्रयाकर जडान गरिने जटायु रेष्टुरेण्टका संयोजक डिबी चौधरीले बताउनुभयो ।

जटायु रेष्टुरेण्टले बिगतका पहिलो बर्षमा ६ वटा र गत बर्षमा १२ वटा गिद्ध  प्रकृतिमा छोडिसकेको थियो । प्रकृतिवाट लोप हुन लागेका गिद्ध संरक्षण गर्ने उदेश्यका साथ हुर्काईएका गिद्ध प्रकृतिमा छोड्ने गरेको बताईएको छ । 

इको–सिष्टम र पर्यावरण सन्तुलन कायम राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने संरक्षणमा सक्रिय संरक्षणकर्मीहरु बताउछन् । 
प्रकृतिमा गिद्ध छोड्नु अघि भएको औपचारीक कार्यक्रममा गिद्धको संरक्षणमा लाग्नुको उदेश्य, यसका चुनौतीका वारेमा समेत डिजिटल कार्यपत्र प्रस्तुत गरिएको थियो । 

लोपोन्मुख पंक्षी संरक्षण अभियान अन्तर्गत्को कार्यक्रममा डिभिजनल बन कार्यालय नवलपुरका प्रमुख पुर्णेश्वर सुबेदी, लगायत शाही चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगायत बटुक दल गण सहित डेनमार्कका बिदेशी संरक्षणकर्मीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्थानीय संरक्षणकर्मी दीपक शर्माले स्वागत मन्तब्यबाट स्वागत गर्नुभएको थियो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *