खगेन्द्र पराजुली,
२४ चैत्र, नवलपुर ।
नवलपुरमा पटक पटक बिबादित देखिएको हुप्सेकोट गाउँपालिका कोरोना संक्रमणको बिषम परिस्थितिमा समेत बिबादित बनेको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेलाई एकलौटी र निरंकुश प्रबृतिबाट अभिप्रेरित भई गलत मनोभावनाले काम गर्दा जनताले राज्यबाट प्राप्त गर्नुपर्ने आर्थिक सामाजिक लगायत बिकासका प्रतिफल प्राप्त गर्न नसकेको यहाँको स्थानीय सरकारमा प्रतिपक्षमा रहेको नेकपा हुप्सेकोट गाउँकमिटिले आरोप लगाएको छ ।
गाउँकमिटि अध्यक्ष चन्द्रवहादुर थापाद्धारा हस्ताक्षरित हुप्सेकाटबासीका नाममा सम्बोधन गरी प्रकासित बिज्ञप्तीमा बर्तमान अवस्थामा बिश्वभर नै महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस कोभिड १९ लाई नियन्त्रण गरी जनताको स्वास्थ्य क्षेत्रको अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका अध्यक्षले प्रभावकारी काम गर्नुपर्नेमा ब्यक्तिगत असक्षमता, अकर्मण्यता, जनताप्रति जिम्मेवारी बिहिनता र उदासिनताले गर्दा झन् समस्या सिर्जना भएको उल्लेख छ ।
बिज्ञप्तीलाई प्रष्ट्याउँदै नेकपा हुप्सेकोट अध्यक्ष थापाले भन्नुभयो– अहिले हुप्सेकोटबासी अत्यन्त पीडामा छन्, नाजुक अवस्थामा पुगेका छन् । पटक पटकको बिबादमा पालिका अध्यक्ष लक्ष्मी पाण्डेले समन्यवकारी र अभिभावकीय भूमिका निर्वाह गर्न नसक्दा राज्यबाट पठाईएको गत कार्तिकदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता समेत पाएका छैनन् । यो महामारीको समयमा गरीव, ज्यालामजदुरीमा आश्रित तथा बिपन्न जनताप्रतिको उत्तरदायित्व सहितको राहत र अन्य सुबिधाको त झन् कुरै नगरौं । वहाँले भन्नुभयो ।
बिज्ञप्तीमा बिभिन्न संघसंस्थाले स्वतस्फुर्त रुपमा स्वास्थ्य सुरक्षा सामाग्री जुटाई नियन्त्रणको प्रयासमा सहयोग गर्न खोज्दा अवरोध खडा गरिएकोप्रति आपत्ति जनाउँदै यसलाई प्रोत्साहन गर्न भनिएको छ ।
गाउँपालिकालाई यतिका लामो समयसम्म अनिर्णयको बन्दीमा नराख्न सुझाउँदै हिउँदे अधिबेशन मार्फत निकास दिन समेत भनिएको छ ।
बिज्ञप्तीमा बिशेषत सामाजिक सुरक्षा भत्ता बितरण र प्रदेश सरकारबाट प्राप्त राहत कोषबाट तत्काल दैनिक ज्यालामजदुरी तथा बिपन्न नागरीकको चुल्हो बाल्नेतर्फ अग्रसरता देखाउन भनिएको छ ।
बिज्ञप्तीमा हुप्सेकोटबासीलाई लकडाउनको पालना पुर्ण रुपमा गर्न र नआत्तिन आग्रह गरिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment