खगेन्द्र पराजुली,
१२ जेठ नवलपुर ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले राष्ट्रिय अभियान अन्तर्गतको दादुरा–रुबेला बिरुद्धको खोप अभियान स्थगित भएका पालिकामा सञ्चालन गर्ने भएको छ ।
विशेष परिस्थितिले रोकिएको खोप अभियान जिल्लाका ३ वटा स्थानीय तहमा रोकिएका थिए ।
गैंडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा गत चैत्रमा दोस्रो चरणमा गर्ने भनिएको खोप अभियान कोरोना रोकथाम र नियन्त्रणमा सरकारले जारी गरेको लकडाउनसँगै प्रभावित बनेको थियो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार यही जेठ १६ गतेदेखि जिल्लाका २ वटा पहाडी गाउँपालिका बुलिङटार र बौदीकालीमा खोप अभियान गर्ने तयारी भएको छ ।
यस्तै गैडाकोट नगरपालिकामा पनि छिटो मिति तय गरी खोप अभियान चलाईने बताउनुभयो ।
वहाँले संक्रमणको यो अवस्थामा सुरक्षित उपाय अपनाउदै बालबालिकालाई खोप लगाउने बताउनुभयो ।
खोप अभियानको पहिलो चरणमा जिल्लाका देवचुली, कावासोती मध्यबिन्दु नगरपालिका र बिनयीत्रिबेणी, हुप्सेकोट गाउँपालिकामा खोप अभियान सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार देबचुलीमा ४ हजार ३ सय ६१, कावासोतीमा ६ हजार ६ सय ४४, मध्यबिन्दुमा ४ हजार ६ सय १६, बिनयी–त्रिबेणीमा ३ हजार ७९ र हुप्सेकोटमा २ हजार ९७ गरी जम्मा २० हजार ८ सय ९८ बालबालिकामा दादुरा—रुबेला बिरुद्धको खोप लगाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment